बीरगन्ज,२५ चैत । गण्डक नहरअन्तर्गत तिलाबे खोलामा निर्माणाधीन बेलिब्रिज (फलामे पुल) जडान कार्य सुस्त गतिमा अघि बढ्दा तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल देखिएको छ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय अन्तर्गत निर्माण भइरहेको उक्त पुलको भौतिक प्रगति हालसम्म करिब ३० प्रतिशत मात्र पुगेको जनाइएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण काम अपेक्षाकृत अघि बढ्न नसकेको कार्यालयले जनाएको छ।
यो परियोजना ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालि (लोकन्थली, भक्तपुर) ले करिब २ करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण गरिरहेको हो। सम्झौताअनुसार सन् २०२५ डिसेम्बर १५ देखि सुरु भएको काम २०२६ मे १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि हालको प्रगति हेर्दा समयमै काम सकिने सम्भावना कमजोर देखिएको छ।
तीन वर्षअघि आएको बाढीले सोही स्थानमा रहेको आरसीसी पुलमा क्षति पुर्याएपछि सवारी आवागमनमा रोक लगाइएको थियो। पुलको पिलरमा क्षति पुगेपछि जोखिम बढेको छ, तर स्थानीयहरू अझै पनि पैदल, साइकल र मोटरसाइकलमार्फत आवतजावत गर्न बाध्य छन्।
जिल्ला सदरमुकाम वीरगन्जलाई उत्तरी–पश्चिमी क्षेत्रसँग जोड्ने यो पुल अत्यन्त महत्वपूर्ण मानिन्छ। यस मार्गबाट करिब ४० प्रतिशत स्थानीय बासिन्दा आवागमन गर्ने भएकाले निर्माणमा ढिलाइ हुँदा दैनिक जीवन प्रभावित भएको छ।
स्थानीयले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिएका छन्। उनीहरूका अनुसार पुलमा थप क्षति पुगेमा गण्डक नहरको संरचनामा समेत असर पर्न सक्ने र सिंचाइ प्रणाली अवरुद्ध हुने जोखिम बढ्न सक्छ।

