काठमाडौं,२५ चैत । सांसद महावीर पुन ले शासन प्रणालीलाई कमजोर बनाउने नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिको अन्त्य गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्ता प्रवृत्तिले राज्य व्यवस्थामा दीर्घकालीन नकारात्मक असर पारेको उल्लेख गरे।
उनले मन्त्री तथा सांसदहरूले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त गर्ने प्रवृत्ति अब सुन्न नपरोस् भन्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
सांसद पुनले नेपाल एकीकरणयतादेखि नै यस्तो अभ्यास जरा गाडेर बसेको दाबी गर्दै यसलाई “विकृत प्रवृत्ति” का रूपमा चित्रण गरे।
फरक प्रसङ्गमा उनले गुल्मी जिल्लालाई हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसार सेवा–सुविधा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले राज्यको सेवा वितरण प्रणालीलाई निष्पक्ष, पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने आवश्यकता दोहोर्याए।

