काठमाडौँ,२६ चैत । आज देशभर विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदैछ। २०४६ साल चैत २६ गते लामो समय चलेको पञ्चायती शासन अन्त्य भई नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।
२०४६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा वाम मोर्चासँगको संयुक्त जनआन्दोलन सफल भएपछि तत्कालीन ३० वर्षे पञ्चायती व्यवस्था समाप्त भएको थियो। सोही घटनाले नेपालमा बहुदलीय प्रजातान्त्रिक प्रणालीको पुनःस्थापना गरेको इतिहास छ।
जनआन्दोलन २०४६ फागुन ७ गतेदेखि सुरु भई करिब ५० दिनसम्म चलेको थियो। उक्त आन्दोलनको नेतृत्व नेपाली कांग्रेसका नेता गणेशमान सिंहले गरेका थिए। आन्दोलनको दबाबपछि तत्कालीन राजा वीरेन्द्रले २०४६ चैत २६ गते देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्था पुनःस्थापना भएको घोषणा गरेका थिए।
यस ऐतिहासिक दिनलाई स्मरण गर्दै राजनीतिक दल, विभिन्न संघ–संस्था तथा नागरिक समाजले देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै जनआन्दोलन दिवस मनाइरहेका छन्।

