काठमाडाै,२६ चैत । काठमाडौँस्थित राष्ट्रिय तथ्याङ्क कार्यालय ले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ को तयारीस्वरूप गणकहरूलाई तालिम दिने प्रक्रिया आजदेखि देशभर एकैसाथ सुरु गरेको छ।
आर्थिक गतिविधिको वास्तविक अवस्था, संरचना र स्वरूपबारे तथ्याङ्क संकलन गरी राष्ट्रिय अर्थतन्त्र अद्यावधिक गर्ने उद्देश्यसहित गणना सञ्चालन गर्न लागिएको हो। सोही तयारी अन्तर्गत छनोट भएका गणकहरूलाई पाँचदिने तालिम दिइने कार्यालयले जनाएको छ।
कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डिराज लामिछानेका अनुसार देशभर रहेका ८४ कार्यालयमार्फत तालिम कार्यक्रम सञ्चालन भइरहेको छ। आवश्यक गणक छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहहरूमा समेत जानकारी पठाइसकिएको उनले बताए।
तालिम सम्पन्न भएपछि गणकहरूलाई देशभर खटाइनेछ र आगामी २०८३ वैशाख २ गतेदेखि आर्थिक गणनाको मुख्य काम सुरु हुनेछ।
यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा सम्पन्न भएको थियो।

