काठमाडौँ,२७ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य नीति निर्माण र कार्यान्वयनलाई वैज्ञानिक अनुसन्धानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको दशौँ राष्ट्रिय शिखर सम्मेलन’ उद्घाटन गर्दै उनले स्वास्थ्यसम्बन्धी निर्णयहरू तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताए।
उपराष्ट्रपति यादवले अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी त्यसका निष्कर्षलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिन अनुसन्धानको उपयोग अपरिहार्य रहेको बताए।
उनका अनुसार स्वास्थ्य अनुसन्धानले महामारी नियन्त्रण, रोग व्यवस्थापन तथा स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दछ। साथै, यसले स्वास्थ्यकर्मीको दक्षता वृद्धि गर्नुका साथै नीति निर्माता र विकास साझेदारबीच सहकार्यलाई मजबुत बनाउने पनि उनले बताए।
नेपालमा नसर्ने रोगको बढ्दो समस्या, जलवायु परिवर्तनको प्रभाव र भौगोलिक विविधताका कारण स्वास्थ्य सेवामा देखिएको असमानता प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले यी समस्याको समाधानका लागि अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए।
परम्परागत उपचार पद्धति र आधुनिक विज्ञानबीच समन्वय आवश्यक रहेको धारणा राख्दै उनले प्रमाणमा आधारित नीति निर्माणतर्फ सबै पक्ष लाग्नुपर्नेमा जोड दिए। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले अनुसन्धानकर्ता र नीति निर्माता बीच सहकार्य र संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

