काठमाडौँ,२७ चैत । सर्वोच्च अदालतले सार्वजनिक बिदाका दिन पक्राउ परेका व्यक्तिलाई पनि संविधानले तोकेको २४ घण्टाभित्र अनिवार्य रूपमा अदालतमा पेस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयअनुसार जारी परिपत्रमा बिदाका दिन समेत पक्राउ भएका व्यक्तिलाई ढिलाइ नगरी मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने स्पष्ट गरिएको छ।
परिपत्र उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, श्रम अदालत, न्यायाधिकरण, बाल अदालत तथा अन्य सबै न्यायिक निकायहरूलाई पठाइएको छ।
संविधानको धारा २० को उपधारा (३) अनुसार पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सर्वोच्चले यसलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको हो।
हाल शनिबार र आइतबार सार्वजनिक बिदा तथा अन्य बिदाका कारण २४ घण्टाको सीमा पालना गर्न कठिनाइ भएको भन्दै गुनासो आएपछि सर्वोच्चले यस्तो परिपत्र जारी गरेको हो।
यसैअनुसार बिदाको समयमा पनि पक्राउ पुर्जी जारी गर्ने, थुनामा राख्ने अनुमति दिने तथा थुनछेकसम्बन्धी आदेश दिन आवश्यक व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिइएको छ।

