जनकपुर,२८ चैत । जनकपुरधामकी २५ वर्षीया रुबी कुमारी प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्। श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी रुबीले छोटो समयमै राष्ट्रिय राजनीतिमा उल्लेखनीय उपलब्धि हासिल गरेकी हुन्।
सामान्य परिवारमा जन्मिएकी रुबीको यात्रा संघर्षपूर्ण रह्यो। उनका पिता सोगारथ ठाकुरले इँटाभट्टा र सैलुन व्यवसाय हुँदै वैदेशिक रोजगारी गरेर परिवार धानेका थिए भने आमा रेणुका ठाकुरले खेतीपाती गर्दै घर सम्हालेकी थिइन्। आर्थिक अभावका बीच हुर्किएकी रुबीले आफ्नै मेहनतमा अध्ययन पूरा गर्दै सामाजिक अभियन्ताका रूपमा पहिचान बनाइन्।
उनले विद्यालय तहदेखि नै दाइजो, बालविवाह र महिला हिंसाजस्ता सामाजिक विकृतिविरुद्ध आवाज उठाउँदै आएकी थिइन्। यही सक्रियताले उनलाई राजनीतिमा ल्यायो र अहिले उपसभामुखजस्तो महत्वपूर्ण जिम्मेवारीसम्म पुर्यायो।
रुबीले अब आफ्नो प्राथमिकता जनताको सेवा रहेको बताएकी छन्। विशेषगरी मधेस क्षेत्रका समस्या—बेरोजगारी, लैङ्गिक हिंसा, दाइजो प्रथा र शिक्षा—समाधानका लागि नीति निर्माणमा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
उपसभामुखको जिम्मेवारी सम्हाल्दै उनले अध्ययनलाई पनि निरन्तरता दिने योजना बनाएकी छन्। “पहिले जनताको सेवा, त्यसपछि व्यक्तिगत कुरा,” भन्ने उनको सोचले उनको प्रतिबद्धता झल्काउँछ।
उनको सफलताले मधेसका युवतीहरूलाई प्रेरणा दिएको छ। सामान्य परिवारबाट उठेर राष्ट्रिय नेतृत्वमा पुग्न सकिन्छ भन्ने सन्देश रुबीको यात्राले दिएको छ।

