आइतबार बिदा कार्यान्वयनले शिक्षामा असर, कोर्स पूरा नहुने जोखिमबारे चिन्ता

spot_img

काठमाडौं,२९ चैत ।  सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक कोर्स समयमै पूरा गर्न कठिन हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

२२ चैतको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम इन्धन संकटको कारण देखाउँदै सरकारी कार्यालय र शैक्षिक संस्थाहरू शनिबार र आइतबार गरी दुई दिन बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शिक्षा मन्त्रालयले शैक्षिक संस्था सातामा दुई दिन बन्द गर्ने, १५ वैशाखदेखि भर्ना र २१ वैशाखदेखि कक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ।

तर यस निर्णयले पठनपाठनको समय घट्ने भएकाले निर्धारित शैक्षिक सत्रभित्र कोर्स पूरा गर्न कठिन हुने विज्ञहरूको भनाइ छ। प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले सातामा पाँच दिन मात्र कक्षा सञ्चालन हुँदा पाठ्यक्रम पूरा गर्न नसकिने भन्दै पाठ्यक्रम समायोजन वा कक्षा अवधि बढाउनुपर्ने बताए।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन अवतार सुवेदीले ६ दिनको पाठ्यक्रमलाई ५ दिनमा समायोजन गर्न गाह्रो हुने उल्लेख गर्दै पाठ्यक्रम नै पुनःसंरचना गर्नुपर्ने सुझाव दिएका छन्।

पाठ्यक्रम विकास केन्द्रले पनि हालको अवस्थामा कोर्स पूरा गर्न चुनौती रहेको स्वीकार गर्दै विकल्पबारे छलफल भइरहेको जनाएको छ। निर्देशक पुरुषोत्तम घिमिरेका अनुसार घण्टाको हिसाबले निर्धारण गरिएको पाठ्यक्रममा बिदा थपिँदा स्वतः असर पर्ने भएकाले समाधान खोजिँदैछ।

अभिभावक संघले भने यो निर्णय स्थायी भए विद्यार्थीको हितमा नहुने भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ।

यसैबीच, देशभरका कतिपय निजी विद्यालयले आइतबारका लागि अनलाइन कक्षा सञ्चालन गर्ने तयारीसमेत थालेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय