२९ वैशाखभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

spot_img

काठमाडौँ,०१ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ।

बोर्डका अनुसार २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित अहिले उत्तरपुस्तिका र मार्कस्लिप इन्ट्री गर्ने काम भइरहेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका आउने क्रम जारी रहेको र त्यसलाई व्यवस्थित रूपमा इन्ट्री गरिँदै आएको जानकारी दिए।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षा यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो। परीक्षण गरिएका उत्तरपुस्तिका र मार्कस्लिप बोर्डमा पठाइँदै छन्, जसमा हालसम्म केही जिल्लाबाट सामग्री आइसकेको छ भने अन्य जिल्लाबाट आउने क्रम जारी छ।

नतिजा समयमै सार्वजनिक गर्न बोर्डमा ३० जना कर्मचारी खटिएका छन्, जसमा १७ जना इन्ट्री कार्यमा मात्रै संलग्न छन्। बिदाका दिनमा समेत काम गरेर तोकिएको समयमा नतिजा निकाल्ने तयारी भइरहेको जनाइएको छ।

सरकारले ढिलो नतिजाका कारण विद्यार्थीमा पर्ने तनाव कम गर्न छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो। सोही अनुसार बोर्डले त्रुटिरहित र समयमै नतिजा सार्वजनिक गर्ने तयारी अघि बढाएको हो।

यस वर्ष एसईईका लागि ५ लाखभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए, जसमा नियमित र ग्रेड वृद्धितर्फका विद्यार्थीहरू सहभागी रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय