बीरगन्ज,०१ वैशाख । सखुवा प्रसौनी गाउँपालिका–१ स्थित दलित बस्तीमा आगलागीबाट प्रभावित तीन परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरिएको छ।
सोमबार राति भएको आगलागीबाट घरबारविहीन बनेका सञ्जय राम, मञ्जय राम र मन्तुरा देवी रामको परिवारलाई तत्काल राहत उपलब्ध गराइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा समाजसेवी बृजेश्वर प्रसाद चौधरी र दलित युवा अभियन्ता मनोज रामको पहलमा मंगलबार प्रभावित बस्तीमै पुगेर राहत वितरण गरिएको हो। प्रत्येक परिवारलाई चामल, पीठो, आलु, प्याज, दाल, नुन, मसला, खानेतेल, चना, केराउ र साबुन लगायतका सामग्री प्रदान गरिएको जनाइएको छ।
उक्त बस्तीमा लागेको आगोले तीनवटा फुसका घरसहित घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पीडित परिवारहरू समस्यामा परेका छन्। आगलागीपछि उनीहरूको दैनिक जीवन प्रभावित बनेको छ।
स्थानीयस्तरमा थप सहयोग जुटाउने प्रयास भइरहेको जनाइएको छ।

