काठमाडौं,०२ वैशाख । अब जन्मदर्ता र विवाह दर्ताजस्ता महत्वपूर्ण सरकारी कागजात पनि मोबाइलमै उपलब्ध हुने भएका छन्। सरकारले राष्ट्रिय पञ्जीकरणका सेवा नागरिक एप मा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ।
सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साह का अनुसार जन्मदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका विवरणलाई एकीकृत प्रणालीमा जोड्ने प्रारम्भिक काम सुरु भइसकेको छ। केही समयभित्रै यी सेवाहरू कार्यान्वयनमा ल्याउने तयारी भइरहेको उनले बताए।
तथ्यांक एकीकृत भएपछि सर्वसाधारणले जन्मदर्ता र विवाह दर्ताजस्ता प्रमाणपत्र सिधै नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन्। यसले सरकारी सेवा लिनका लागि कार्यालय धाउनुपर्ने झन्झट घट्ने अपेक्षा गरिएको छ।
सरकारले डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै नागरिक सेवा अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्र बनाइरहेको छ। यसैक्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ समेत एपमार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।
त्यसैगरी नेपाल इन्जिनियरिङ परिषद् सँगको सहकार्यमा इन्जिनियरहरूको व्यावसायिक प्रमाणपत्र पनि डिजिटल रूपमा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय को कार्ययोजनाअनुसार ४५ दिनभित्र नयाँ सेवाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। तर मन्त्री डा. विक्रम तिमिल्सिना ले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्को ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत पनि नागरिक एपमा थप सेवा विस्तार गर्ने योजना समावेश गरिएको छ। हाल भने एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सुविधा सञ्चालनमा आइसकेको छ।
नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ मजबुत हुने विश्वास गरिएको छ। यसले सेवाग्राहीलाई समय, लागत र झन्झट घटाउँदै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

