काठमाडौँ,०१ वैशाख । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गरेको छ।
बैंकले आर्थिक वर्ष ०७९र८० लाई आधार वर्ष मानेर तथ्यांक प्रकाशन गरेको हो। बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै स्रोतबाट संकलित तथ्यांकका आधारमा घरजग्गा कारोबारसम्बन्धी विवरण अब त्रैमासिक रूपमा सार्वजनिक गरिनेछ। राष्ट्र बैंकले लिखत पारितअन्तर्गत राजीनामा कारोबारका आधारमा प्रवृत्तिको विश्लेषण गरेको छ। कारोबार सङ्ख्या, कारोबार मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व संकलन तथा घरजग्गा क्षेत्रमा प्रवाहित बैंक कर्जाजस्ता सूचकहरूलाई आधार मानेर विश्लेषण गरिएको बैंकले जनाएको छ।
तथ्यांकअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ। पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको छ। प्रदेशगत रूपमा हेर्दा कारोबार सङ्ख्याका आधारमा मधेस प्रदेश अग्रस्थानमा छ भने त्यसपछि लुम्बिनी र कोसी प्रदेश छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार सबैभन्दा कम देखिएको छ। कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा सबैभन्दा बढी छ।
जग्गाको प्लट साइजका आधारमा मधेस प्रदेशबाहेक अन्य प्रदेशहरूमा २।५ देखि १० आना क्षेत्रफलका प्लट बढी किनबेच हुने गरेको पाइएको छ। तर मधेस प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटहरूमा बढी कारोबार हुने देखिएको छ। घोषित मूल्यका आधारमा बागमती प्रदेश अग्रस्थानमा छ भने महानगर तथा उपमहानगरपालिकामा पाँचदेखि १० आना क्षेत्रफलका प्लट बढी कारोबार भएको देखिएको छ।
बैंकका अनुसार आव ०७७र७८ देखि ०८१र८२ सम्म घरजग्गा कर्जा ७२।४१ प्रतिशतले बढेको छ। आवासीय कर्जा ६१।५५ प्रतिशतले बढेको छ। घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्वमा पनि उतारचढाव देखिएको छ। आव ०७८र७९ को पहिलो त्रैमासमा करिब २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व त्यसपछि घट्दै ०७९र८० को पहिलो त्रैमासमा आठ अर्ब २० करोड रुपैयाँमा झरेको थियो। पछिल्लो अवधिमा भने सुधार हुँदै ०८१र८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ।
राष्ट्र बैंकले यस्तो तथ्यांक प्रकाशनबाट रियलस्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै सोमबार सार्वजनिक तथ्यांकका आधारमा घरजग्गा मूल्य सूचकांक निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत भइरहेको छ।

