काठमाडौं,०१ वैशाख । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने उद्देश्यले देशव्यापी रूपमा एक महिने ‘जरा अभियान’ सुरु गरेको छ। अभियानको औपचारिक शुभारम्भ सभापति गगन कुमार थापा ले मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै गरेका थिए।
यो अभियान वैशाख मसान्तसम्म सञ्चालन हुनेछ। पार्टीले यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जसले स्थानीय तहमा सदस्यता विस्तार र अद्यावधिक प्रक्रियाको नेतृत्व गर्नेछन्।
कांग्रेसले यस अभियानमार्फत ‘डिजिटल कांग्रेस आईडी’ अनिवार्य गर्ने, वडास्तरमै क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने तथा नागरिक संवादलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
त्यसैगरी, पुराना सदस्यहरूको विवरण अद्यावधिक गर्दा फारम भर्ने र फोटो खिच्ने व्यवस्था अनिवार्य गरिनेछ। नयाँ सदस्यता प्रक्रियालाई पनि डिजिटल प्रणालीमार्फत सरल बनाउने तयारी गरिएको पार्टीले जनाएको छ।
अभियान अन्तर्गत सदस्यता अद्यावधिक गर्दा ओटीपी नम्बर अनिवार्य लिने र फोटो खिच्ने व्यवस्था लागू गरिने कांग्रेसले स्पष्ट पारेको छ।

