spot_img

श्रीमानकाे आक्रमणबाट खुट्टा गुमाएकी महिलालाई इन्सेकको आर्थिक सहयोग

spot_img
spot_img

वीरगन्ज,०३ वैशाख । श्रीमानकाे क्रूर आक्रमणबाट गम्भीर घाइते भई खुट्टा गुमाएकी हरिकला सहनी लाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको छ।

वीरगन्जस्थित एल.एस. न्युरो हस्पिटल मा उपचाररत सहनीलाई इन्सेकले १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो। गत चैत १ गते श्रीमान्ले धारिलो हतियार प्रहार गर्दा उनको दाहिने खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। चिकित्सकका अनुसार शल्यक्रियामार्फत खुट्टा काट्नुपर्ने अवस्था आएको थियो।

इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारी सहितको टोलीले अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेको हो। भण्डारीले मानवअधिकार र न्यायका पक्षमा संस्था सधैँ उभिने प्रतिबद्धता व्यक्त गरे।

पीडित सहनीका दुई नाबालक सन्तान रहेका छन्। घटनापछि परिवारबाट अपेक्षित सहयोग नपाउँदा उनी हाल आफ्ना बुबाआमाको सहारामा उपचार गराइरहेकी छन्। कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउनसमेत कठिन भइरहेको जनाइएको छ।

घटनामा संलग्न उनका श्रीमान्लाई प्रहरीले चैत १४ गते नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। इन्सेकको सहयोगले पीडितलाई केही राहत पुगेको र कठिन परिस्थितिमा पनि संस्थागत साथ पाइने सन्देश दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय