spot_img

रानी नाकामा सुरक्षा कडाइ, अब परिचयपत्र अनिवार्य

spot_img
spot_img

विराटनगर,२६ वैशाख । भारतको जोगवनी हुँदै विराटनगरस्थित रानी नाका भएर नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ। सीमा क्षेत्रमा बढ्दो अवैध गतिविधि, तस्करी तथा शंकास्पद आवागमन नियन्त्रण गर्न प्रशासनले सुरक्षा निगरानी कडा बनाएको हो।

युवराज कटेल नेतृत्वको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा क्षेत्रको अनुगमन गर्दै नयाँ व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको जनाएको छ। प्रशासनका अनुसार अब नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आधार कार्ड, नागरिकता वा अन्य आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ।

मोरङ जिल्ला प्रशासन कार्यालय को निर्णयपछि सीमा क्षेत्रमा सुरक्षाकर्मीले माइकिङमार्फत सर्वसाधारणलाई नयाँ नियमबारे जानकारी गराइरहेका छन्। कवित कटवाल का अनुसार खुला सीमाको फाइदा उठाएर हुने तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न निगरानी थप सुदृढ गरिएको हो।

जोगवनी नाका दैनिक किनमेल, रोजगारी र अन्य कामका लागि प्रयोग हुने प्रमुख मार्गमध्ये एक हो। विराटनगरसहित इटहरी, धरान, उर्लाबारी, सुन्दरहरैँचा लगायत क्षेत्रका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि जोगवनी पुग्ने गरेका छन्। तर यही आवागमनको अवसर प्रयोग गरेर केही समूहले अवैध सामान ओसारपसार गर्ने गरेको सुरक्षा निकायको निष्कर्ष छ।

सशस्त्र प्रहरीले एउटै व्यक्ति दिनमै पटक–पटक सीमा ओहोरदोहोर गर्ने गतिविधिलाई समेत निगरानीमा राखेको जनाएको छ। रेल तथा सडकमार्गबाट आउने यात्रुमाथि चेकजाँच बढाइएको छ भने आवश्यक परे सामान भन्सार प्रक्रियामा लैजाने व्यवस्था पनि मिलाइएको प्रहरीले जनाएको छ।

प्रशासनले सुरक्षाको दृष्टिले केही समय सर्वसाधारणलाई सामान्य असुविधा हुन सक्ने भए पनि दीर्घकालीन रूपमा सीमा सुरक्षा र अवैध कारोबार नियन्त्रणका लागि यस्तो कदम आवश्यक भएको बताएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय