जनकपुर,२६ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले प्रधानमन्त्री बालेन शाह ले गरेको प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको प्रशंसा गरेका छन्।
शनिबार जनकपुरधाममा आयोजित कानुन दिवसको अवसरमा भएको न्यायिक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले परम्परागत क्रमभन्दा माथि उठेर सक्षम व्यक्तित्वलाई ध्यानमा राखी गरिएको सिफारिसलाई सकारात्मक कदम भएको बताए।
उनका अनुसार यस्तो निर्णयले न्यायालयमा नयाँ अभ्यास र सुधारको सुरुवात गर्न सक्नेछ र देशको न्याय प्रणालीलाई थप सुदृढ बनाउन मद्दत पुग्नेछ।
मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिका वा राजनीतिक हस्तक्षेप हुनु नहुनेमा जोड दिँदै कानुनको कार्यान्वयन निष्पक्ष रूपमा हुनुपर्ने बताए। उनले उच्च अदालत जनकपुर अन्तर्गतका इजलासहरूलाई निष्पक्ष र न्यायसंगत फैसला गर्न आग्रह गरे।
उनले अपराधीलाई सजाय र निर्दोषलाई न्याय सुनिश्चित गर्नु नै न्याय प्रणालीको मूल दायित्व भएको उल्लेख गर्दै न्यायाधीशहरूलाई त्यसतर्फ दृढ रहन आग्रह गरे।
कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका न्यायाधीश, अदालतका कर्मचारी तथा कानुनका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




