वीरगन्ज,०३ वैशाख । घडिअर्वा परिषदमा एमनेष्टी इन्टरनेशनल ग्रुप १६ को आयोजनामा एक दिने मानवअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पर्सा क्षेत्र नं–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशील शाह कानु लाई बधाई तथा सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले जनप्रतिनिधिले संसदमा मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
ग्रुप १६ का अध्यक्ष रजनिस झा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कानुले मानवअधिकार लोकतन्त्रको आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा आफू प्रतिबद्ध रहने बताए। उनले नागरिकका अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहलमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राजेश जैन बोथरा, विशाल झा, सतिश अग्रवाल, सुनिल महतो, समीक्षा घिमिरे तथा सञ्चारकर्मी जगत राई लगायतको उपस्थिति रहेको थियो। अभिमुखीकरणमा मानवअधिकारका आधारभूत सिद्धान्त, वर्तमान चुनौती र स्थानीय तहमा कार्यान्वयनका विषयमा प्रशिक्षण दिइएको थियो। आयोजकले कार्यक्रमले मानवअधिकारप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र नागरिकबीच सहकार्य सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।




