‘मूल घर भत्काएर रूपान्तरण सम्भव छैन’ : डा. शशांक कोइराला

spot_img

काठमाडौँ,०३ वैशाख । नेपाली कांग्रेस का पूर्व महामन्त्री शशांक कोइराला ले पार्टीभित्र देखिएको आन्तरिक विवाद र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै एकताको पक्षमा उभिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

बिहीबार जारी विज्ञप्तिमा उनले पार्टीको ऐतिहासिक विरासत जोगाउन सबै पक्षबीच सहकार्य र समझदारी अपरिहार्य रहेको बताएका छन्। “मूल घर भत्काएर गरिने कुनै पनि रूपान्तरणको अर्थ हुँदैन,” भन्दै उनले आन्तरिक द्वन्द्वले पार्टी मात्र होइन, समग्र लोकतान्त्रिक प्रणालीलाई समेत असर पार्न सक्ने चेतावनी दिएका छन्।

उनका अनुसार पार्टी अहिले कमजोर र चुनौतीपूर्ण अवस्थामा रहेकाले यस्तो समयमा उत्पन्न हुने कलहले संगठनलाई थप क्षति पुर्‍याउन सक्छ। सैद्धान्तिक मतभेद स्वाभाविक भए पनि त्यसले आधारभूत एकतालाई कमजोर बनाउनु नहुने उनको धारणा छ।

कोइरालाले पछिल्लो समय ‘रूपान्तरण’ का नाममा भइरहेका गतिविधिहरूले पार्टीलाई रक्षात्मक अवस्थामा पुर्‍याएको उल्लेख गर्दै तल्लो तहदेखि शीर्ष नेतृत्वसम्म संयम र एकताको आवश्यकता औंल्याएका छन्।

पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको सन्दर्भमा उपसभापति पूर्णबहादुर खड्का लाई सोधिएको स्पष्टीकरणले पनि एकताको वातावरण प्रभावित हुने उनले बताएका छन्।

साथै, १५औँ महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता अद्यावधिकका नाममा हुने परिवर्तनले आन्तरिक लोकतन्त्र र पारदर्शितामा असर पार्न सक्ने चेतावनी उनले दिएका छन्।

अन्त्यमा, कांग्रेस सैद्धान्तिक रूपमा अझै विभाजित नभएको उल्लेख गर्दै कोइरालाले सबै पक्षलाई आपसी तिक्तता त्यागी पार्टीको समग्र हितका लागि एक ठाउँमा उभिन आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय