काभ्रेपलाञ्चोक,०४ वैशाख । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई छिटो र सहज बनाउने नयाँ व्यवस्था लागू गरेको छ। अब ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी सेवाग्राहीलाई हस्तान्तरण गरिने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना ले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै नयाँ प्रणालीबारे जानकारी दिएका हुन्। उनले नागरिकलाई लामो समयसम्म लाइसेन्स पर्खनुपर्ने समस्या अन्त्य गर्ने सरकारको प्राथमिकता रहेको बताए।
मन्त्री तिमिल्सिनाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुरक्षण मुद्रण केन्द्रको भूमिकालाई महत्वपूर्ण भन्दै उपलब्ध उपकरण र संरचनाको पूर्ण उपयोग गर्न निर्देशन दिए। उनका अनुसार करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहे पनि अब तीलाई सञ्चालनमा ल्याइएको छ।
केन्द्रका कार्यकारी निर्देशकका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। ट्रायल पास गर्नेबित्तिकै आवेदन प्रक्रिया पूरा हुने गरी प्रणाली सुधार गरिएको र आगामी असार मसान्तसम्म सबै बाँकी लाइसेन्स छाप्ने लक्ष्य लिइएको छ।
सरकारले यस व्यवस्थाबाट सेवा प्रवाहमा ढिलाइ अन्त्य हुने, नागरिकको समय बचत हुने र डिजिटल प्रशासन थप प्रभावकारी बन्ने अपेक्षा गरेको छ।

