वीरगंज, ४ वैशाख – पर्सामा बालिका बलात्कारको घटनालाई स्थानीय स्तरमै मिलाउन प्रयास भएको घटना उजागर भएको छ। घटना पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ को हो। कक्षा ५ मा अध्ययनरत नाम परिवर्तन गरिएको सृजना नाम गरेकी बालिकालाई नातामा दाजुभाइ पर्ने दुई जना युवकले सामूहिक रूपमा अपहरण गरी बलात्कार गरेको थियो।
घटनाको विषयमा स्थानीयहरू बीच चर्चा परिचर्चा भएपछि गाउँघरमै मिलाउने प्रयास स्थानीय पञ्चहरूले गरेका थिए। तर पीडित परिवारले भने प्रहरीमा किटानी जाहेरी दिएका थिए। घटनामा संलग्न रहेका व्यक्तिहरूले उल्टै आएर घटना मिलापत्र गर्न दबाब दिएको तथा पीडित बालिकाको घरमै पुगेर गालीगलौज गरेका थिए।
घटनाको विषयमा बाहिर जे जस्तो भनिए पनि पीडित बालिकाले नै सञ्चारकर्मी एवं प्रहरीलाई आफूमाथि बलात्कार भएको बताएपछि मुद्दा दर्ता गरिएको एवं आरोपीहरूको खोजी कार्य जारी रहेको पर्साका प्रहरी उपरीक्षक सुदीप पाठकले जानकारी दिए।
घटना गत वर्ष चैत १७ गतेको रहेको भए पनि हालसम्म प्रहरीले आरोपीमध्ये एक जनालाई समेत पक्राउ गर्न सकेको छैन। पीडित बालिकाले घटनामा लडु यादव र रुपेश यादवको संलग्नता रहेको प्रहरीलाई बयान दिएकी बताइएको छ।
पीडित परिवारका अनुसार पीडक पक्ष आफूलाई बाहुबली भन्ने गरेका तथा राजनीतिक संरक्षण समेत रहेको कारण हालसम्म दोषीलाई पक्राउ गर्न स्थानीय प्रहरी उदासीन रहेको बताउँदै आएका छन्। घटनाको विषयमा घरमै पुगेर पीडक पक्षले झगडा गरेको तथा आफ्नो नातिनी बलात्कृत भएको कुरा सुनेर बिरामी रहेका पीडित बालिकाका हजुरबुवाको सदमाकै कारण मृत्यु भएको बालिकाको पारिवारिक पक्षको भनाइ छ।
यता प्रहरीले भने दोषीहरूको खोजी कार्य जारी भन्दै झारा टार्ने गरेका छन्। बलात्कार जस्तो फौजदारी अभियोगको मुद्दा मिलापत्र गराउनेहरू समेत कानुनका दोषी हुने एवं उनीहरूलाई समेत पक्राउ गर्न सक्ने कानुनी व्यवस्था रहेको भए पनि पञ्चायती भएको विषयमा प्रहरीलाई कुनै जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पाठकको भनाइ छ। तर महुवन बजारमै रहेको प्रहरी चौकीलाई घटनाको विषय थाहा किन भएन र दोषीहरू बजारमा खुल्याम घुमिरहँदा किन पक्राउ गरिएन भन्ने प्रश्न उब्जिएको छ।
घटनाको विषयमा स्थानीय प्रहरीले वास्ता नगर्नु तथा मुद्दा दर्ता पनि ढिला गरी हुनु आदि कारणले गरिबलाई न्याय पाउन पनि कठिन भएको छनक दिएको छ। शान्ति सुरक्षाको डंका पिट्ने पर्साका प्रहरी प्रमुख पाठकको कार्यशैली तथा अनुसन्धान प्रक्रियामै गम्भीर प्रश्न खडा गरिदिएको छ।
घटनाको विषयमा स्थानीय अगुवा तथा भद्रभलादमीहरूको अलग–अलग राय रहेको भए पनि दोषी उपर कारबाही हुनु पर्नेमा उनीहरू एकमत छन्। कतिपयले यो घटनाले गाउँ नै दुई भागमा विभाजित भएको तथा नेताहरूले प्रहरी प्रशासनलाई प्रभावमा पार्ने प्रयास गरिरहेको गुनासो गरेका छन्।

