बीरगन्ज,०४ वैशाख । पर्साको बिन्दबासिनी गाउँपालिका–४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा सीमाक्षेत्रमा सञ्चालन भइरहेका अवैध संरचना तथा मदिरा पसलहरू हटाइएका छन्।
सशस्त्र प्रहरी बल नेपाल को सीमा सुरक्षा गुल्म अलौ, प्रहरी चौकी अमरपट्टी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमा क्षेत्रमा अनधिकृत रूपमा बनेका टहराहरू हटाएको हो।
कारबाहीका क्रममा नेपालतर्फ रहेका ५ टहरा, ३ मदिरा पसल र १ भट्टी हटाइएको छ भने भारततर्फका ३ टहरा समेत हटाइएको सुरक्षा निकायले जनाएको छ।
सीमाक्षेत्रमा बढ्दै गएको अवैध गतिविधि नियन्त्रण गर्न तथा सुरक्षा व्यवस्था सुदृढ बनाउन संयुक्त रूपमा अभियान सञ्चालन गरिएको सुरक्षाकर्मीहरूले बताएका छन्।

