धनगढी,०४ वैशाख । धनगढी उपमहानगरपालिका–१ बुद्धमन्दिर क्षेत्रमा छिमेकीको घरको सिढीमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार ५६ वर्षीय पतिराम चौधरी शुक्रबार राति करिब साढे ११ बजे ३५ वर्षीय महेश श्रेष्ठको घरको सिढीमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना ले सोधपुछका लागि घरधनी महेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताए।
मृतकको शव हाल सेती प्रादेशिक अस्पतालमै राखिएको छ भने घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

