काठमाडौं,०४ वैशाख । सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग सम्बोधन गर्दै अस्पतालहरूमा पनि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अबदेखि शनिबार र आइतबार अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा बन्द रहनेछन्।
मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने र अन्य सरकारी कर्मचारीसरह सुविधा उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको हो।
यद्यपि, बिदाका दिनमा पनि आकस्मिक (इमर्जेन्सी) र अन्तरङ्ग (इन–पेसेन्ट) सेवाहरू भने २४ घण्टा निरन्तर सञ्चालनमा रहनेछन्। आइतबारका लागि तय गरिएका शल्यक्रिया तथा अन्य उपचार प्रक्रियाहरूलाई अस्पतालले आन्तरिक व्यवस्थापनमार्फत सम्पन्न गर्नुपर्नेछ।
बिरामीले बिदाका दिनमा समस्या नपरोस् भनेर आवश्यक सेवा उपलब्ध गराउने, र आवश्यक परेमा अन्य अस्पतालमा ‘रेफर’ गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।
यो निर्णय नेपाल चिकित्सक संघ लगायत १४ पेशागत संस्थाहरूको दबाबपछि आएको हो। यसअघि मन्त्रालयको निर्देशनविपरीत चिकित्सकहरूले आइतबार ओपीडी सञ्चालन नगर्ने अडान लिँदै आएका थिए।
अब अस्पतालहरूले बिदाका दिन उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट र सूचना पाटीमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। मन्त्रालयले ‘अस्पताल सुधार कार्यविधि, २०८२’ प्रभावकारी रूपमा लागू गर्दै स्वास्थ्य सेवा थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।

