काठमाडौं,०४ वैशाख । वैदेशिक रोजगारीप्रति नेपाली युवाहरूको आकर्षण घट्नुको सट्टा झन् बढ्दै गएको देखिएको छ। पछिल्लो तथ्यांकअनुसार चैत महिनामा मात्रै करिब ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन्।
रोजगार विभाग का अनुसार सो अवधिमा ५ लाख ८७ हजार ३२२ जनाले श्रम स्वीकृति लिएका हुन्। यसमध्ये पहिलोपटक विदेश जानेको संख्या १ लाख ९६ हजार ७७८ रहेको छ भने पुनः श्रम स्वीकृति (रिन्यु) गर्नेहरूको संख्या २ लाख ९३ हजार २५७ पुगेको छ।
यो तथ्यांकले विदेशबाट फर्किएका कामदारहरू स्वदेशमै रोजगारी खोज्नुभन्दा पुनः विदेश फर्कन बढी इच्छुक रहेको संकेत गर्छ।
विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार व्यक्तिगत, मेनपावर र सरकार–सरकार (जीटुजी) माध्यमबाट श्रम स्वीकृति लिने क्रम जारी छ।
पछिल्लो समय प्रक्रियालाई प्रविधिमैत्री बनाइएपछि आवश्यक कागजात पूरा भएमा एकै दिनमा श्रम स्वीकृति पाइने व्यवस्था गरिएको विभागले जनाएको छ। महानिर्देशक मिरा आचार्यको नेतृत्वमा प्रणाली सुधार र श्रमिक हित संरक्षणमा काम भइरहेको दाबी गरिएको छ।
तर सुधार प्रयासका बाबजुद ठगीका घटना भने रोकिएका छैनन्। चैत महिनामा मात्रै २१३ वटा ठगीका उजुरी दर्ता भएका छन्, जसमध्ये ११९ वटा फर्छ्यौट भइसकेका छन्। नियम विपरीत काम गर्ने दुई अभिमुखीकरण तालिम प्रदायकको लाइसेन्ससमेत खारेज गरिएको छ।
यसबीच, बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार बने पनि स्वदेशमै रोजगारी सिर्जनामा ठोस परिवर्तन देखिन नसक्दा युवाहरू विदेशिन बाध्य भइरहेका छन्।
दैनिक हजारौंको संख्यामा विदेशिने युवाले देशमा रेमिट्यान्स भित्र्याइरहे पनि उत्पादनशील जनशक्तिको अभाव भने गम्भीर चुनौतीका रूपमा कायम छ।

