काठमाडौं,०४ वैशाख । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई सहज बनाउन सरकारले हुलाकमार्फत सेवा सुरु गरेको छ।
हुलाक सेवा विभागले चैत २६ गतेदेखि लाइसेन्स देशभरका यातायात कार्यालयमा पठाउन थालेको हो। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार यसअघि इम्बोस्ड नम्बर प्लेट पठाउने सम्झौताको आधारमै अहिले लाइसेन्स वितरण थालिएको हो।
हालसम्म झापा, सुनसरी, डडेलधुरा, डोटी लगायतका जिल्लामा लाइसेन्स पठाइसकिएको छ। अब सेवाग्राहीले सम्बन्धित कार्यालयबाट सहज रूपमा लाइसेन्स प्राप्त गर्न सक्नेछन्।
विभागले आगामी दिनमा लाइसेन्स सीधै सेवाग्राहीको घरमै पुर्याउने योजना पनि अघि बढाएको छ। त्यसका लागि लाइसेन्स आवेदन फाराममै ठेगाना उल्लेख गर्ने व्यवस्था सहित नयाँ प्रणाली विकास गर्ने तयारी भइरहेको जनाएको छ।
यो प्रणाली कार्यान्वयनमा आएपछि देशभरका ७५३ वटै स्थानीय तहमा रहेका हुलाक कार्यालयमार्फत घरघरमै सेवा दिन सकिने अपेक्षा गरिएको छ।
यातायात व्यवस्था विभाग अन्तर्गत हाल ४२ वटा कार्यालयमार्फत लाइसेन्स वितरण हुँदै आएको छ। छपाइ भएका लाइसेन्सहरू ती कार्यालयमा पठाउने काम सुरु भइसकेको छ।
सरकारको नीति अनुसार लाइसेन्स, नागरिकता र राहदानीजस्ता सेवाहरू घरमै पुर्याउने लक्ष्य अनुरूप यो पहल अघि बढाइएको हो।यसैबीच, सुरक्षण मुद्रण केन्द्र ले दैनिक करिब ४० हजार लाइसेन्स छपाइ गर्दै आएको छ। बाँकी रहेको लाखौं लाइसेन्स पनि असारभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले प्रयोगात्मक परीक्षा पास गरेको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

