अमृत झा रिहाबारे जानकारी छैन परिवारलाई

spot_img

काठमाडौं,०४ वैशाख । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको सरकारी दाबी आए पनि उनी हालसम्म परिवारको सम्पर्कमा नआएपछि अन्योल र चिन्ता बढेको छ।

परराष्ट्र मन्त्री शिशिर खनालले वैशाख २ गते राति सामाजिक सञ्जालमार्फत झा रिहा भएको जानकारी दिएका थिए। मन्त्रालयले पनि अनौपचारिक रूपमा रिहाइ सम्बन्धी सूचना प्राप्त भएको जनाएको छ र उनलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको बताएको छ।

तर, दुई दिन बितिसक्दा पनि झा परिवारसँग सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ। झाकी दिदी पूजा झाले रिहाइको खबरले सुरुआतमा खुसी दिलाए पनि हालसम्म कुनै जानकारी नआएकाले पुनः तनाव बढेको बताइन्।

परिवारका तर्फबाट पहल गरिरहेका खेमनारायण यादवले सरकारप्रति असन्तुष्टि जनाउँदै रिहाइ भएको भनिए पनि परिवारलाई औपचारिक जानकारी नगराइएको गुनासो गरे।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने झाको रिहाइबारे अनौपचारिक सूचना आएको र उनलाई नेपाल ल्याउन आवश्यक समन्वय भइरहेको बताएका छन्। साथै इरानमा रहेका अन्य नेपाली नागरिकलाई पनि सुरक्षित रूपमा स्वदेश फर्काउने पहल भइरहेको जानकारी दिएका छन्।

उदयपुरका ३३ वर्षीय झा इरानमा एक कम्पनीमा कार्यरत थिए। इन्धन ढुवानीको क्रममा उनलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको परिवारले जनाएको छ।

सरकारले रिहाइ प्रक्रिया अघि बढेको बताइरहे पनि स्पष्ट विवरण र प्रत्यक्ष सम्पर्क नहुँदा झाको अवस्था अझै अनिश्चित बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय