काठमाडौं,०४ वैशाख । सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति भरतबहादुर खड्काले जनतालाई सहज र प्रभावकारी रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन आफू सक्रिय भूमिका खेल्ने बताएका छन्।
निर्विरोध रूपमा सभापतिमा चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्काले अब काममा ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य गरिने स्पष्ट पारे। उनले कुनै पनि बहानामा काम रोक्ने वा अल्झाउने संस्कार स्वीकार्य नहुने चेतावनी दिए।
खड्काका अनुसार सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र परिणाममुखी बनाउन समितिले निगरानी भूमिका अझ सशक्त बनाउनेछ। उनले सम्बन्धित निकायहरूलाई कानुनको दायराभित्र रहेर समयमै काम गर्न आग्रह गर्दै जनताले सहज रूपमा सेवा पाउनु नै आफ्नो प्राथमिकता हुने बताए।
उनले अब पुरानो ढर्रा तोड्दै बदलिँदो आवश्यकता अनुसार सार्वजनिक सेवा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। साथै, सेवा प्रवाहमा जिम्मेवारी नलिने निकाय वा कर्मचारीमाथि आवश्यक निगरानी र दबाब सिर्जना गरिने संकेत पनि दिएका छन्।

