बीरगन्ज,०४ वैशाख । बाराको परवानीपुर गाउँपालिका–५ मा सिँचाइका लागि बनाइएको पुरानो नहर पुरेर सडक निर्माण सुरु गरिएपछि स्थानीय तहमा विवाद चुलिएको छ।
करिब ३० लाख रुपैयाँ लागतको उक्त योजना आवश्यकता भन्दा पनि स्वार्थअनुसार अघि बढाइएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्। वर्षौंदेखि कृषिमा उपयोग हुँदै आएको नहर हटाइएपछि सिँचाइ प्रणालीमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीयका अनुसार नहर पुरिँदा पानी निकास अवरुद्ध हुने जोखिम बढेको छ, जसले खेतीपातीसँगै सरसफाइ र डुबानको समस्या निम्त्याउन सक्छ।
स्थानीय सिमनतर रामले यस्तो कार्यले दीर्घकालीन समस्या निम्त्याउने चेतावनी दिएका छन् भने रोहित गुप्ताले आवश्यक नभएको स्थानमा सडक निर्माण गर्नु शंकास्पद भएको बताएका छन्।
योजनामा पारदर्शिता नभएको आरोप लगाउँदै स्थानीयवासीले छानबिनको माग गरेका छन्। उनीहरूले तत्काल निर्माण कार्य रोक्न, योजनाको औचित्य स्पष्ट पार्न र सम्बन्धित निकायलाई जवाफदेही बनाउन आग्रह गरेका छन्।

