बीरगन्ज,०५ वैशाख । लामो समयदेखि विवाद र कानुनी प्रक्रियामा अड्किएको त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आज (शनिबार) साँझदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।
सडक डिभिजन कार्यालय हेटौंडा का अनुसार गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने योजना अनुसार संरचना हटाउने काम एकैसाथ पाँच स्थानबाट सुरु गरिनेछ। यसका लागि ९ वटा भारी उपकरण—डोजर, जेसीबी र एक्साभेटर—हेटौंडाबाट वीरगन्ज ल्याएर तयारी अवस्थामा राखिएको छ।
सडक डिभिजन कार्यालयका नायब सुब्बा राजकुमार अर्याल ले सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा पर्ने घर, टहरा र अन्य संरचना हटाउने प्रक्रिया आजैदेखि सुरु हुने जानकारी दिए।
शनिबार साँझ वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह को कार्यकक्षमा सडक डिभिजन, नापी, टेलिकम, खानेपानी तथा विद्युत प्राधिकरणका प्रमुखहरूबीच अन्तिम समन्वय बैठक बस्ने तयारी छ। बैठकपछि महानगरपालिका र सुरक्षा निकायको सहकार्यमा एकैसाथ पाँच स्थानमा डोजर परिचालन गरी काम अघि बढाइने जनाइएको छ।
यो सडक विस्तार १३ वर्षदेखि रोकिँदै आएको थियो। सर्वोच्च अदालतले २०८१ फागुन २८ गते रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि विस्तार कार्य अघि बढाउने बाटो खुलेको हो।
यसअघि २०६९ सालदेखि नै सडक विभागले विभिन्न चरणमा सूचना जारी गर्दै सडक क्षेत्रमा पर्ने संरचना हटाउन आग्रह गर्दै आएको थियो। करिब १ हजार २ सय घरधनीले मुआब्जा, वैकल्पिक सडक र योजनाको आवश्यकता नहुँदै सडक विस्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर पटक–पटक पेसी सर्दै आएको मुद्दा अन्ततः सरकारको पक्षमा टुंगिएपछि परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो।
सडक विभागले २०७६ सालमा समेत १५ दिने सूचना जारी गर्दै घरधनीलाई स्वयम् संरचना हटाउन आग्रह गरेको थियो। नापी कार्यसमेत सम्पन्न भइसकेको यस आयोजनालाई अब पूर्ण रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
यस विस्तारपछि वीरगन्ज–मितेरी पुल खण्डको मुख्य सडकलाई व्यवस्थित, फराकिलो र यातायात सहज हुने अपेक्षा गरिएको छ। तर दीर्घकालीन विवाद, विस्थापन र मुआब्जा सम्बन्धी प्रश्न भने अझै स्थानीयस्तरमा संवेदनशील विषयका रूपमा रहेको देखिन्छ।

