सडक विस्तारले बीरगन्जमा तीन दिन बिजुली अवरुद्ध हुने

spot_img

बीरगन्ज,०६ वैशाख । बीरगन्जमा भइरहेको मुख्य सडक विस्तारको कामले आगामी तीन दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। सडक फराकिलो बनाउने अभियान तीव्र पारिएसँगै विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएपछि यस्तो अवस्था आएको हो।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको बीरगन्ज वितरण केन्द्रका अनुसार वैशाख ६ गतेदेखि ८ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत् सेवा अनियमित रहनेछ। त्रिभुवन राजपथ अन्तर्गत मितेरी पुलदेखि गण्डक नहर चोकसम्म २५–२५ मिटर सडक विस्तार भइरहेकाले पोल र तार सार्ने काम बिहानैदेखि सञ्चालन गरिनेछ।

यस अवधिमा बीरगन्ज सबस्टेसनअन्तर्गत वडा नं. १, २, ५, ६ का साथै राधेमाई, जगन्नाथपुर र प्रसौनी क्षेत्र प्रभावित हुनेछन्। त्यस्तै, छपकैया सबस्टेसनअन्तर्गत हस्पिटल, बिर्तामाई, छपकैया र बलिरामपुर फिडरका सबै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।

वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोका अनुसार सडक विभागले डोजर प्रयोग गरी संरचना हटाइरहेकाले आकस्मिक मर्मतको आवश्यकता पर्न सक्छ। उनले मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा सेवा चाँडै सुचारु गरिने पनि जानकारी दिए।

सडक विस्तारसँगै हुने अस्थायी असुविधापछि दीर्घकालीन रूपमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय