नेपालगन्ज,०६ वैशाख ।बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। आज बिहान भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाँकेको कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश नम्बरको एम्बुलेन्सले गुलरिया नगरपालिका–७, तुलापुर क्षेत्रमा पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको हो। दुर्घटनामा गुलरिया–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू नजिकै सञ्चालन भइरहेको योग शिविरतर्फ जाँदै गर्दा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको थियो। मृतक लामिछाने योग प्रशिक्षकसमेत रहेको खुलाइएको छ।
दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज नर्सिङहोम मा उपचार भइरहेको छ।
घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत छानबिन भइरहेको बताएको छ।

