टेन्डर विवादले बुटवलमा किसान मारमा, लाखौँको तरकारी कुहियो

spot_img

बुटवल,१२ वेशाख । बुटवलस्थित कृषि उपज थोक बजारको टेन्डर लामो समयसम्म नखुल्दा किसानहरू गम्भीर समस्यामा परेका छन्। अदालतले टेन्डर खोल्न आदेश दिएको झण्डै ६ महिना बितिसक्दा पनि सम्बन्धित निकायले प्रक्रिया अघि नबढाउँदा किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नपाएर कुहिन थालेको हो।

नेपाल किसान महासंघ लुम्बिनी अध्यक्ष रिता केसी का अनुसार पछिल्लो हप्तामै करिब २० लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री नहुँदा नष्ट गर्नुपरेको छ। काउली, लौका, काँक्रा, केराउ, गोलभेँडा लगायतका उत्पादन बजारमा लैजाँदा पनि बिक्रीको अवसर नपाएको उनीहरूको गुनासो छ।

किसानहरूले आरोप लगाएका छन् कि थोक बजारभित्र रहेका केही व्यवसायीको सञ्जाल (सिन्डिकेट) ले नयाँ प्रतिस्पर्धीलाई प्रवेश गर्न नदिँदा समस्या झन् गम्भीर बनेको छ। किसानका लागि छुट्याइएको १० प्रतिशत सटरमा समेत वास्तविक किसानले पहुँच नपाएको उनीहरूको भनाइ छ।

यस्तै, भारतबाट आउने तरकारीको बढ्दो आयातले पनि नेपाली किसानलाई असर परेको बताइएको छ। स्थानीय उत्पादनले बजार र उचित मूल्य दुवै नपाउँदा किसान थप मारमा परेको नेत्र बस्याल ले बताए।

नेपाल किसान महासंघ रुपन्देही अध्यक्ष राजन पाण्डे क्षेत्री ले टेन्डर नखुल्नुको प्रत्यक्ष असर किसानमा परेको स्पष्ट पारे। उनले स्थानीय सरकारको ढिलासुस्तीका कारण उत्पादन बिक्री हुन नसकेको बताए।

किसानहरूले बुटवल उपमहानगरपालिका मा ज्ञापनपत्र बुझाउँदा पनि ठोस पहल नभएको गुनासो गरेका छन्। किसान साजन भारी का अनुसार नगर प्रमुखले विषय आफ्नो मातहतमा नरहेको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन्।

अदालतले बोलपत्रसम्बन्धी प्रक्रिया कानुनसम्मत रहेको ठहर गरिसकेको छ। ६८ वटा सटरका लागि २६७ वटा बोलपत्र दर्ता भइसकेको र बैंक ग्यारेन्टी समेत बुझाइएको डेढ वर्ष भइसक्दा पनि प्रक्रिया अघि नबढ्नुले थप शंका उत्पन्न गरेको छ। केही पुराना व्यवसायीलाई विना प्रतिस्पर्धा सटर दिन खोजिएको आशंका समेत किसान पक्षले गरेका छन्।

यस विषयमा ऋषभ पोखरेल ले छानबिनको माग गर्दै टेन्डर शीघ्र खोल्न आग्रह गरेका छन्। अन्यथा कानुनी कदम चाल्ने चेतावनी समेत दिएका छन्।

बुटवल उपमहानगरका प्रवक्ता शिव राना ले भने टेन्डर प्रक्रिया ढिलाइ हुनुको कारण केही कानुनी जटिलता रहेको बताएका छन्। तर किसान भने तत्काल समाधानको माग गर्दै दबाब बढाइरहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय