काठमाडौँ — नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली सँग दुई खेलको टी–२० सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ। खेल अपराह्न ५ बजे त्रिवि क्रिकेट मैदान मा सुरु हुनेछ।
करीब साढे दुई वर्षपछि कीर्तिपुरमा नेपाल र युएई आमनेसामने हुन लागेका हुन्, जसले खेलप्रेमीमा थप उत्साह बढाएको छ। नियमित कप्तान रोहित पौडेल को अनुपस्थितिमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी ले टोलीको नेतृत्व सम्हाल्दै छन्।
युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले टी–२० क्रिकेटमा नयाँ अध्यायको सुरुवात गर्ने लक्ष्य लिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, गुलशन झा लगायतका युवा प्रतिभासँगै अनुभवी खेलाडीको समिश्रण देखिन्छ।
यसैगरी टोलीमा सन्दीप लामिछाने, बसिर अहमद, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल पनि समावेश छन्। वैकल्पिक खेलाडीका रूपमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले रात्रिकालीन खेलका लागि टिकट व्यवस्थापन खल्ती एपमार्फत गरेको जनाएको छ। सिरिजअन्तर्गत दोस्रो खेल भोलि हुने तालिका छ।
नयाँ संयोजनसहित मैदान उत्रिने नेपाली टोलीका लागि यो सिरिज आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

