आपत्तिजनक सामाजिक सञ्जाल टिप्पणीविरुद्ध राजविराजमा प्रदर्शन

spot_img

सप्तरी,११ पुस । सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीको आस्थामाथि अपमानजनक टिप्पणी गरिएको आरोपमा कारबाहीको माग गर्दै सप्तरीको राजविराजमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा राष्ट्रिय बजरङ्ग दल र हिन्दु सम्राट सेना सम्बद्ध कार्यकर्ताहरूले राजविराज बजार बन्द गराएका हुन् ।

प्रदर्शनकारीहरूले राजविराज निवासी अफरोज आलमले सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाउँदै कानुनी कारबाहीको मागसहित नाराबाजी गरे । बन्दका कारण राजविराजबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन ठप्प भएका छन् भने सरकारी कार्यालयहरूमा समेत आंशिक प्रभाव परेको छ ।

सप्तरी जिल्ला अदालतले समेत सूचना टाँस गरी एक दिनका लागि सेवा प्रवाह स्थगित गरेको छ । हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासका अनुसार हिन्दु धर्मावलम्बीको आस्थामा चोट पुग्ने गरी सामाजिक सञ्जालमा टिप्पणी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसहित प्रदर्शन गरिएको हो ।

यसअघि राष्ट्रिय बजरङ्ग दल, हिन्दु सम्राट सेना र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेका थिए ।

ज्ञापनपत्रमा राजविराज नगरपालिका–१ रहमतपुर टोलका अफरोज आलमले भगवान् श्रीकृष्णलाई लक्षित गर्दै अत्यन्त अश्लील, अपमानजनक र घृणायुक्त अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप उल्लेख गरिएको छ ।

यता अफरोज आलमले भने तीन वर्षअघि भूलवश त्यस्तो टिप्पणी भएको भन्दै क्षमायाचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नै भविष्यमा यस्ता अभिव्यक्ति नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय