सिरहामा मेयर पक्राउको माग गर्दै कर्मचारी आन्दोलन

spot_img

सिरहा, २८ चैत । पक्राउ पुर्जी जारी भए पनि नगर प्रमुखलाई नियन्त्रणमा नलिइएको भन्दै सिरहा नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरपालिकाको सम्पूर्ण सेवा ठप्प भएको छ।

मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले पक्राउ नगरेको आरोप लगाउँदै कर्मचारीहरूले कामकाज बहिष्कार गरेपछि स्वास्थ्य, कृषि, पशु शाखादेखि वडा कार्यालयसम्मका सबै सेवा अवरुद्ध भएका छन्। सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

कर्मचारीहरूको आरोप अनुसार गत सोमबार कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौजसहित कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका रामशरणको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा मेयर यादव र नगरकै कर्मचारी रोहित मेस्तरमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रोहित मेस्तर भने पक्राउ परिसकेका छन्।

कर्मचारीहरूले मेयर यादव सम्पर्कविहीन भए पनि अहिले घरमै रहेको सूचना आएको दाबी गर्दै प्रहरीले पक्राउ नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले पक्राउ, कानुनी कारबाही, पीडितको निःशुल्क उपचार र क्षतिपूर्तिको माग राखेका छन्।

प्रहरीले भने मेयर यादवको खोजी कार्य जारी रहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय