एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा

spot_img

काठमाडौँ,०७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाको अवधिमा ७ लाख ११ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन्। विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ यात्रु आवागमनमा उल्लेखनीय वृद्धि देखिएको हो।

अन्तर्राष्ट्रियतर्फ ३ लाख ७५ हजार ६ सय ७४ यात्रु तथा आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रुले विमानस्थल प्रयोग गरेका छन्। यस अवधिमा कुल २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान सञ्चालन गरेका थिए।

कार्यालयका तथ्यांक अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत १ लाख ९२ हजारभन्दा बढी यात्रु विदेश प्रस्थान गरेका छन् भने १ लाख ८३ हजारभन्दा बढी यात्रु नेपाल भित्रिएका छन्। सोही अवधिमा २ हजार ५ सयभन्दा बढी उडान तथा अवतरण भएका छन्।

यात्रु संख्याका आधारमा एयर अरेबिया सबैभन्दा अगाडि रहेको छ, जसले ५० हजारभन्दा बढी यात्रु बोकेको छ। त्यसपछि नेपाल एयरलाइन्स, इन्डिगो एयर, थाई एयरवेज, एयर इन्डिया, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि उल्लेख्य यात्रु सेवा दिएका छन्।

यता, आन्तरिक उडानतर्फ ७ हजार ९ सयभन्दा बढी उडान–अवतरण भएका छन्। आन्तरिकतर्फ १ लाख ६४ हजारभन्दा बढी यात्रु प्रस्थान गरेका छन् भने १ लाख ७० हजारभन्दा बढी यात्रु अवतरण गरेका छन्।

आन्तरिक उडानमा बुद्ध एयर सबैभन्दा अगाडि रहेको छ। त्यसपछि यती एयरलाइन्स र श्री एयरलाइन्सले पनि ठूलो संख्यामा यात्रु सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका अनुसार हवाई यातायातमा यात्रु चाप निरन्तर बढ्दै गएको छ, जसले पर्यटन तथा अन्तर्राष्ट्रिय आवागमनमा सकारात्मक संकेत देखाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय