बीरगन्ज,०७ वैशाख । बीरगन्जको मुटु मानिने त्रिभुवन राजपथअन्तर्गत सडकमा यतिबेला धमाधम डोजर चलेका छन् ।
वर्षौंदेखिका साँघुरा बाटालाई राष्ट्रिय मापदण्डअनुसार फराकिलो बनाउने काम भइरहेका छन्, यसले सहरको स्वरूप त बदलिएला, तर यो परिवर्तनले स्थानीयलाई भने सास्ती बढेको छ । उनीहरूको दैनिकी कष्टकर बन्न थालेको छ ।
आइतबार बिहान सबेरैदेखि गण्डक चोकदेखि भारत–नेपाल सीमास्थित मितेरी पुलसम्म डोजर चल्यो । सडक डिभिजन कार्यालय हेटौँडाको नेतृत्वमा सुरक्षाकर्मीको निगरानीमा अतिक्रमण गरी बनाइएका घरटहरा धमाधम भत्काइए ।
सडकलाई दायाँबायाँ २५र२५ मिटर फराकिलो बनाउने लक्ष्यअनुसार करिब १ हजार २०० निजी संरचना र २९ वटा सरकारी भवन हटाउने योजना बढाइएको छ, जसअनुसार काम पनि तीव्र गतिमा भइरहेको छ ।
यो अभियान कानुनी आधारमा अघि बढाइएको हो । सर्वोच्च अदालतको निर्णय र संघीय सरकारको निर्देशनपछि कार्यान्वयनमा ल्याइएको यस योजनालाई स्थानीय सरकारको पनि साथ छ, तर कागजमा स्पष्ट देखिएको योजना व्यवहारमा लागू हुँदा धेरैले दुःख पाइरहेका छन् ।
सूचना जारी भएको छोटो समयमै घर र पसल खाली गर्नुपर्दा स्थानीयहरू रातारात सामान सार्न बाध्य छन् । दशकौँदेखि सञ्चालनमा रहेका व्यापार एकाएक बन्द गर्नुपर्दा व्यापारीहरू अन्योलमा मात्र होइन, तनावमा छन् । ‘हामीलाई व्यवस्थित रूपमा सर्ने समय दिइएन’ भन्ने गुनासा सबैले गर्न थालेका छन् ।
संरचना भत्काउने कार्यसँगै सबैभन्दा ठुलो समस्या आधारभूत सेवामा देखिएको छ । विद्युत् लाइन, खानेपानी पाइप र सञ्चारका तार काटिँदा मुख्य बजार क्षेत्र अन्धकार बनेको छ । नेपाल विद्युत् प्राधिकरणको आपूर्ति अवरुद्ध हुँदा केही दिनदेखि निरन्तर बिजुली आएको छैन, गर्मी बढ्न थालेसँगै यो समस्या पनि थपिएको छ ।
पंखा र कुलर नचल्दा बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । साँझ पर्नासाथ बजार अन्धकार हुँदा सुरक्षा चिन्ता पनि थपिएको छ ।
स्थानीयहरू उज्यालो अभावले चोरीजस्ता घटना बढ्न सक्ने डरमा छन् । खानेपानीको समस्या पनि त्यत्तिकै गम्भीर बनेको छ । पाइपलाइन अवरुद्ध भएपछि नियमित पानी आपूर्ति बन्द भएको छ भने बिजुली अभावका कारण सहरबासीले बोरिङमा मोटरसमेत चलाउन सकेका छैनन्, यसले गर्दा सामान्य सरसफाइदेखि दैनिक आवश्यकतासम्म पूरा गर्न कठिन भइरहेको उनीहरूले गुनासो गरिरहेका छन् ।
स्थानीय बासिन्दा दीपक सर्राफ भन्छन्, ‘विकास आवश्यक छ, तर तयारीबिना गरिएको यस्तो कदमले हामीलाई बाँच्नै गाह्रो बनायो । न पानी छ, न बिजुली, यो गर्मीमा कसरी दिन बिताउने रु’
स्थानीयले पाएको सास्तीबारे महानगरले भने केही दिन लाग्ने बताएको छ । सबै ठाउँमा टुटफुट भएर करेन्ट लाग्ने जोखिम देखिएकाले लाइन काटिएको हो महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भने, दुई दिनभित्र सबै व्यवस्था मिलाएर सबै सुचारु हुन्छ ।
दीर्घकालीन दृष्टिले हेर्दा सडक विस्तारले वीरगञ्जको यातायात व्यवस्थापन सुधार्ने, व्यापारिक गतिविधि बढाउने र सीमावर्ती सहरको रूपमा यसको महत्त्व अझ बलियो बनाउने अपेक्षा गरिएको छ । फराकिलो सडकले जाम घटाउने र आवागमन सहज बनाउने विश्वास लिइएको छ ।

