बीरगन्ज,०७ वैशाख । वन्यजन्तु संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पर्सा राष्ट्रिय निकुञ्ज मा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएको छ। ३१औँ वन्यजन्तु सप्ताह २०८३ को अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरूबीच अन्तरक्रिया गर्दै संरक्षण अभियानलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो।
“सुरक्षित मानिस, संरक्षित वन्यजन्तु” भन्ने मूल नारासहित स्थापना गरिएको उक्त उद्धार केन्द्रले घाइते, बस्तीमा पसेका वा जोखिममा परेका वन्यजन्तुको उद्धार, उपचार र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा ले संरक्षणमा स्थानीय समुदायको सहभागिता बढ्दै जानु सकारात्मक संकेत भएको बताए। उनले विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे।
उद्धार केन्द्र (हात्तीसार) को उद्घाटन राजन पौडेल ले गरेका हुन्। उनले स्थानीय तह र निकुञ्ज प्रशासनबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै आवश्यक पर्दा नगर प्रहरी र पशु चिकित्सकमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध सिकार नियन्त्रण तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए। साथै, सञ्चारकर्मीहरूलाई तथ्यपरक र जिम्मेवार सामग्रीमार्फत संरक्षण सन्देश जनस्तरसम्म पुर्याउन आग्रह गरिएको थियो।
कार्यक्रमअघि सञ्चारकर्मीहरूलाई निकुञ्ज क्षेत्रको स्थलगत अवलोकन गराइएको थियो, जसबाट संरक्षणका प्रयास र चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको आयोजकले जनाएको छ।

