अमृत झा अझै रिहा भएनन्, प्रक्रिया जारी

spot_img

काठमाडौं, ०८ वैशाख । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै जारी रहेको छ। स्थानीय अदालतबाट रिहाइको आदेश आएपछि प्रक्रिया अघि बढेको भए पनि उनी हालसम्म रिहा भइसकेका छैनन्।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल तथा परराष्ट्र मन्त्रालय ले २ वैशाखमै झा रिहा भइसकेको जानकारी दिएका थिए। अदालतको आदेशपछि उनी सुरक्षित रूपमा केश्म आइल्यान्ड मा रहेको उल्लेख गरिएको थियो। तर, पछिल्लो जानकारी अनुसार उनी अझै औपचारिक रूपमा रिहा भइसकेका छैनन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले अदालतको आदेशअनुसार रिहाइ प्रक्रिया जारी रहेको र आवश्यक समन्वय भइरहेको बताएका छन्।

अमृत झा कार्यरत जहाजलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाउँदै इरानी रेभुल्युसनरी गार्ड ले बन्दर अब्बास बन्दरगाह बाट नियन्त्रणमा लिएको थियो। उक्त घटना होर्मुज स्ट्रेट क्षेत्रमा भएको थियो, जहाँ जहाजसहित उनीसहित ७ जनालाई नियन्त्रणमा लिइएको थियो।

उक्त घटनापछि उनीहरूमाथि अदालतमा मुद्दा चलाइएको थियो। अदालतको आदेशपछि ७ जनामध्ये ४ जना यसअघि नै रिहा भइसकेका छन् भने अमृत झासहित ३ जनाको रिहाइ प्रक्रिया जारी रहेको छ।

अमृत झा सन् २०२४ जुलाईमा वैदेशिक रोजगारीका लागि यूएई गएका थिए। उनी ‘अल लुलु मरिन सर्भिसेस एलएलसी’ कम्पनीअन्तर्गत पानीजहाजमा सीम्यानका रूपमा कार्यरत थिए।

इरान पुगेर फर्किने क्रममा इरानी सुरक्षाकर्मीले जहाजसहित उनीहरूलाई नियन्त्रणमा लिएका थिए। पक्राउपछि अमृतले ह्वाट्सएपमार्फत अडियो सन्देश पठाउँदै आफू पक्राउ परेको जानकारी दिँदै रिहाइका लागि सरकारसँग पहल गर्न आग्रह गरेका थिए।

सोही आधारमा परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा कतारस्थित नेपाली दूतावासले उनको रिहाइका लागि पहल गर्दै आएका छन्।

परराष्ट्र मन्त्रालयले यसअघि ‘रिहा भइसकेको’ भन्ने सूचनामा बुझाइमा फरक परेको स्वीकार गर्दै हाल रिहाइ प्रक्रिया मात्रै अघि बढेको स्पष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय