काठमाडौँ,०९ वैशाख । प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट आन्दोलनले पछिल्लो समय गम्भीर चुनौतीहरू सामना गरिरहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस (७७औँ) को अवसरमा शुभकामना सन्देश दिँदै उनले विगत एक वर्ष आन्दोलनका लागि कठिन रहेको उल्लेख गरे। उनले केही व्यक्तिहरूले यही अवस्थालाई आधार बनाएर कम्युनिस्ट आन्दोलनको भविष्य नै समाप्त भएको दाबी गरिरहेको टिप्पणी पनि गरे।
ज्ञवालीले विचारधाराको अन्त्य भएको भन्ने धारणा असफल हुने दाबी गर्दै कम्युनिस्ट आन्दोलन समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र परिवर्तनको आवश्यकतासँग जोडिएको बताए। उनका अनुसार यस्तो आन्दोलन व्यक्तिगत चाहनाले समाप्त नहुने धारणा राखे।
पछिल्लो निर्वाचन परिणामले दिएको धक्का र चुनौतीलाई सामान्य रूपमा लिन नहुने भन्दै उनले पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।
उनले संरचनागत पुनर्संरचना, नयाँ परिस्थितिको विश्लेषण र त्यसअनुसार नयाँ सोच तथा ऊर्जा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, स्थापना दिवसलाई अवसरका रूपमा लिएर आन्दोलनलाई नयाँ जीवन दिन सामूहिक प्रतिबद्धता जनाउन पनि उनले आह्वान गरेका छन्।

