काठमाडौँ,०९ वैशाख । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्ण रूपमा अलग हुने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। करिब पाँच महिनाको छोटो राजनीतिक यात्रापछि उनले पार्टीसँगको सम्बन्ध अन्त्य गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालमा बिताएको समयलाई उनले “अमूल्य अनुभव” भन्दै त्यस अवधिमा साथ दिने नेताहरू, सहकर्मी र कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
किरातीले संगठनसँग औपचारिक सम्बन्ध अन्त्य भए पनि आपसी सम्मान र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्। साथै, पार्टी छाडे पनि आफू राजनीतिबाट टाढा नहुने स्पष्ट पारेका छन्।
उनले जनताको विश्वास र सहिदहरूको बलिदानलाई मार्गदर्शक मान्दै समाज रूपान्तरण र देशसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।यसअघि नै पार्टीमा राजीनामा बुझाए पनि उनले पहिलोपटक सार्वजनिक रूपमा यसबारे धारणा व्यक्त गरेका हुन्।

