धनगढी,०९ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार १८ वर्षीय उज्जल सायरमाथि आक्रमण गरी हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा पक्राउ परेका हुन्।
घटना दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहका क्रममा भएको बताइएको छ। सोही कार्यक्रममा सहभागी भएका बेला आरोपितहरूले सायरमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
गम्भीर अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

