काठमाडौँ,०९ वैशाख । संघीय मामिला तथा प्रशासन मन्त्रालयले निजामति कर्मचारीहरूलाई आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले जारी गरेको सूचनामार्फत सरकारले स्वीकृत गरेको शासकीय सुधार कार्यसूचीअनुसार जिम्मेवारी निर्वाह गर्न सबै कर्मचारीलाई आग्रह गरिएको हो।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये कर्मचारीसँग सम्बन्धित विषयहरूलाई विशेष प्राथमिकता दिइएको छ। सो कार्यसूचीमा विद्यमान भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती अन्त्य तथा प्रशासनलाई जनमुखी र उदाहरणीय बनाउने लक्ष्यसहित कर्मचारी आचारसंहिता अक्षरशः कार्यान्वयन गर्ने उल्लेख छ।
यस्तै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र जिम्मेवार ढंगले सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित हुनुपर्नेमा जोड दिइएको छ।
मन्त्रालयले कर्मचारीको आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निजामति सेवा ऐन तथा नियमावलीअनुसार काम गर्नसमेत निर्देशन दिएको छ।

