काठमाडौँ,०९ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जनसरोकारका विषयलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर “लहडका भरमा” गरिरहेको आरोप लगाए। उनले विशेष गरी भदौ २४ गते भएको आन्दोलनका घटनाबारे निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे।
थापाले नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई सम्मान गर्ने उल्लेख गर्दै त्यस क्रममा राज्यका निकायहरूले विधि र विधान पालना गर्नुपर्नेमा जोड दिए। “हामीले भदौ २४ को घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छौँ,” उनले भने, “यदि हाम्रा माग पूरा भएनन् भने आवाजलाई अझ सशक्त बनाउने तरिका हामीलाई थाहा छ।”
सरकारले पछिल्लो समय कानुन मिच्दै निर्णय गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले त्यसप्रति सचेत रहन आग्रह गरे।
पार्टीको भूमिकाबारे स्पष्ट पार्दै थापाले कांग्रेस सङ्घीय संसदमा जिम्मेवार प्रतिपक्ष भए पनि सातै प्रदेशमा सरकारमा रहेको स्मरण गराए। उनले कांग्रेस अराजक नभई तथ्यमा आधारित रूपमा प्रस्तुत हुने भएकाले कतिपयलाई यसको आवाज मधुरो लागेको हुन सक्ने बताए।
त्यसैगरी, जनहितका मुद्दामा सरकार चुके कांग्रेस दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी १५औँ महाधिवेशनमा पार्टीलाई एकताबद्ध बनाउने लक्ष्य रहेको उल्लेख गरे। साथै, गृहमन्त्री सुधन गुरुङसम्बन्धी विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको पनि उनले बताए।

