प्रहरी गाडीको ठक्करबाट सिरहामा बालक गम्भीर घाइते

spot_img

सिरहा,०९ वैशाख । सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय आयुष मलिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार गस्तीका क्रममा बालक गाडीमा ठोक्किएपछि तत्काल स्थानीय स्तरमै उपचारका लागि लगिएको थियो। पछि पीडित पक्षसँगको सहमतिमा थप उपचारका लागि धरान पठाइएको उनले जानकारी दिए।

तर घटनाबारे बालकका हजुरबुबा जगदीश मलिकले फरक दाबी गरेका छन्। उनका अनुसार बालक गाउँको सडकमा खेलिरहेको बेला प्रहरीको गाडीले ठक्कर दिएको हो, जसका कारण उनी गम्भीर घाइते भएका हुन्।

स्थानीयका अनुसार बालक मामा घर आएका थिए र घर फर्किने तयारीकै क्रममा उक्त दुर्घटना भएको हो।

घटनापछि घाइते बालकलाई मिर्चैयास्थित मनकामना मिड इस्टर्न अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रहरीले बालकको अवस्था सामान्य रहेको जनाएको भए पनि परिवारले भने अवस्था चिन्ताजनक रहेको बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय