नेपाल–भारत सीमामा कडाइप्रति महन्थ ठाकुरको विरोध

spot_img

काठमाडौँ,०९ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रियसभा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सीमा क्षेत्रमा गरिएको कडाइका कारण मधेस र सीमावर्ती क्षेत्रका नागरिकले दैनिक सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

ठाकुरले नेपाल–भारतबीचको खुला सिमाना र सदियौँदेखिको सामाजिक, सांस्कृतिक तथा ‘रोटी–बेटी’ सम्बन्धलाई सुरक्षा वा भन्सारको नाममा प्रभावित पार्न नहुनेमा जोड दिए। घरायसी प्रयोजन र दैनिक उपभोग्य सामान किनमेलका लागि सीमा वारपार गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिइएको उनले बताए।

“सीमा क्षेत्रमा बसोबास गर्ने मधेसी जनताको दैनिकी पारिको बजारसँग जोडिएको छ,” ठाकुरले भने, “तर अहिलेको कडा जाँच र निगरानीका कारण नागरिकले हरेक पाइला–पाइलामा सास्ती खेप्नुपरेको छ। सर्वसाधारणलाई अपराधीझैँ व्यवहार गर्नु उचित हुँदैन।”

उनले सीमामा चेकजाँच व्यवस्थित गर्नुपर्नेमा दुई मत नरहे पनि त्यसको नाममा सर्वसाधारणलाई आतङ्कित पार्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।

ठाकुरले सरकारलाई सीमा क्षेत्रमा नागरिकलाई दिइने सास्ती तत्काल रोक्न र सहज आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन्। साथै, आगामी आर्थिक वर्षको बजेटमा मधेस क्षेत्रलाई उपेक्षा नगर्न पनि उनले आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय