काठमाडौँ,०९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पराजयपछि आत्तिने प्रवृत्तिले सफलताको बाटो अवरुद्ध हुने बताएका छन्।
पार्टीको स्थापना दिवसका अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले जीवन, सामाजिक तथा राजनीतिक यात्रा उतार–चढावपूर्ण हुने भएकाले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिए।
नेपालले कम्युनिस्ट आन्दोलनको यात्राबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै भने, “कम्युनिस्ट पार्टी कसरी उकालो–ओरालो हुँदै अघि बढेको छ भन्ने समीक्षा गर्नुपर्छ। जीवन, समाज र राजनीति सबैमा उतार–चढाव हुन्छ, यसलाई आत्मसात् गर्नुपर्छ।”
उनले पराजयपछि हताश हुने प्रवृत्ति गलत भएको बताउँदै भने, “पराजय हुनेबित्तिकै आत्तिनेले कहिल्यै जित हासिल गर्न सक्दैन। जितका लागि नयाँ शिराबाट अघि बढ्नुपर्छ।”
नेपालले पार्टीलाई तल्लो तहदेखि सुदृढ बनाउँदै वडा तहबाटै सक्रिय रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
“हामी वडास्तरबाटै उठेर धुलो टकटक्याउँदै अघि बढ्न सक्नुपर्छ,” उनले भने, “त्यसपछि मात्र नयाँ–नयाँ सफलता हासिल गर्न सकिन्छ।”

