बारा,१० वैशाख । डिभिजन वन कार्यालय बाराले महेन्द्र राजमार्गअन्तर्गतको अति संवेदनशील पथलैया–अमलेखगञ्ज–चुरियामाई सडक खण्डमा भएको वन अतिक्रमण हटाउन कडा कदम चालेको छ।
कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै वन ऐन, २०७६ को दफा ४९ ९ग० को व्यवस्थाविपरीत वन क्षेत्रभित्र अनाधिकृत रूपमा निर्माण गरिएका घरटहरा र सञ्चालनमा रहेका व्यवसायहरूलाई ३ दिनभित्र हटाउन निर्देशन दिएको छ। लामो समयदेखि सरकारी वन क्षेत्र ओगटेर बसोबास र व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका संरचनाहरूका कारण वन संरक्षणमा चुनौती थपिएपछि प्रशासनले यस्तो अल्टिमेटम दिएको हो । यस अतिक्रमणको चपेटामा परेको क्षेत्रको सीमांकन गर्दै कार्यालयले पूर्वमा वन क्षेत्र तथा दुधौरा नदी, पश्चिममा पर्सा राष्ट्रिय निकुञ्ज, उत्तरमा चुरियामाई मन्दिर र दक्षिणमा पथलैया चोकसम्मको क्षेत्रलाई चारकिल्ला तोकेको छ ।
निमित्त डिभिजनल वन अधिकृतद्वारा जारी सूचनामा तोकिएको ३ दिनको अवधिभित्र स्वैच्छिक रूपमा अतिक्रमण खाली नगरे कार्यालयले प्रचलित कानुनबमोजिम जबर्जस्ती हटाउने जनाएको छ । जबर्जस्ती अतिक्रमण हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने वन कार्यालयले स्पष्ट पारेको छ । यसका साथै, वन ऐन २०७६ ले तोकेबमोजिमको जरिवाना र सजायसमेत हुने भएकाले समयमै संरचना हटाउन सरोकारवालाहरूलाई सचेत गराइएको छ ।
सरकारी जग्गा संरक्षण र वन क्षेत्रको पुनस्स्थापनाका लागि प्रशासनले चालेको यो पछिल्लो कदमलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

