काठमाडौं, १० वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट आपूर्ति गरिएको रासायनिक मल आगामी असारसम्म मौज्दात रहने भए पनि, पश्चिम एशियामा जारी सङ्कटका कारण मल आपूर्तिमा अवरोध उत्पन्न हुने देखिएकाले सहजीकरणका लागि सम्बन्धित निकायहरूलाई आग्रह गरिएको हो।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि विभाग, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सातै प्रदेशका कृषि मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आगामी यामको धानखेतीका लागि मल बिक्री–वितरणलाई प्रभावकारी बनाउन सहजीकरण गरिदिन आग्रह गरेका छन्।

