जनकपुर,१० वैशाख । करिब ६ दशकअघि स्थापना भएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पर्खाइमा रहेको छ।
एक समय देशकै सबैभन्दा आम्दानी गर्ने उद्योगमध्ये रहेको यस कारखानाले प्रत्यक्ष रूपमा ७ सयभन्दा बढी र अप्रत्यक्ष रूपमा ३ हजारभन्दा बढीलाई रोजगारी दिएको थियो। तर राजनीतिक हस्तक्षेप र अस्थिर व्यवस्थापनका कारण क्रमशः कमजोर बन्दै अन्ततः बन्द हुन पुगेको स्थानीयहरू बताउँछन्।
कारखानासँग जनकपुरधाममा मात्रै ३३ विघा ६ कठ्ठा जग्गा रहेको छ भने देशका अन्य २२ स्थानमा पनि यसको सम्पत्ति फैलिएको छ। परिसरभित्र चुरोट उत्पादन युनिटसँगै प्रिन्टिङ प्रेस, वर्कसप र विद्युत उत्पादन गर्ने पावर हाउसजस्ता पूर्वाधार अझै उपलब्ध छन्।
पूर्वकर्मचारीहरूका अनुसार कारखानामा जडान गरिएका अधिकांश मेसिनहरू अझै प्रयोगयोग्य अवस्थामा छन्। सामान्य मर्मत र सर्भिसिङ गरेमा कम लगानीमै पुनः सञ्चालन गर्न सकिने उनीहरूको भनाइ छ। प्रिन्टिङ मेसिन, लेथ वर्कसप र पावर हाउससमेत चलाउन सकिने सम्भावना रहेको बताइन्छ।
कारखानाका पूर्वकर्मचारी सेठ साहुका अनुसार बन्द हुँदासम्म धेरै मेसिनहरू पूर्ण रूपमा सञ्चालन अवस्थामै थिए। “थोरै मर्मत गरे तत्काल उत्पादन सुरु गर्न सकिन्छ,” उनले बताए।
हाल कारखाना सुरक्षाका लागि सीमित कर्मचारी मात्र खटिएका छन्। केही साना उपकरण हराए पनि मुख्य संरचना र मेसिनहरू सुरक्षित रहेको जनाइएको छ।
स्थानीयवासी र सरोकारवालाहरूले सरकारले ध्यान दिए निजी–सार्वजनिक साझेदारीमार्फत कारखाना पुनः सञ्चालनमा ल्याउन सकिने विश्वास व्यक्त गरेका छन्। यसो भएमा रोजगारी सिर्जना हुनुका साथै राज्यको राजस्वमा पनि उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
अहिले बनेको रास्वपा नेतृत्वको सरकारले देशमै रोजगारी सृजना गर्ने प्रतिवद्धता जाहेर गरेको छ । धनुषावासीहरु जनकपुर चुरोट कारखाना पनि पुनः सुचारु हुने आशामा छन् ।

